
एनआईसी एसिया बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा १३ अर्बले ऋणात्मक



काठमाडौं । अत्याधिक खराव कर्जा र व्यवस्थापनको असफलताको कारण अप्ठेरो अवस्थाको सामना गरिरहेको एनआईसी एसिया बैंकको मुनाफामा अझै गिरावट आएर जम्मा ११ करोडमा सीमित हुन पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट आएर १३ अर्ब ६५ करोड ऋणात्मक हुन पुगेको छ ।
जुन नेपालको बैंकिङ क्षेत्रको इतिहासमै सबैभन्दा बढि हो । वितरणयोग्य मुनाफा ऋणात्मक रहेकोले बैंकका सेयरधनीहरुले तत्काल कुनै लाभांश वा बोनस पाउने छैनन् । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा जम्मा ११ करोड १८ लाख ४७ हजार ९४८ रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो आवको यसै अवधीमा २१ करोड ११ लाख ५४ हजार ५७२ रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले चालु आवको नौ महिनामा अझै घटेको हो । बैंकको मुनाफा घट्नुमा अत्याधिक प्रोभिजन गर्नुपर्ने बाध्यता हो । बैंकमा लगातार बढिरहेको खराव कर्जाका कारण वित्तीय अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको छ ।
बैंकको खुद ब्याज आम्दानी पनि उच्च अंकले घटेको छ । गत आवको यसै अवधीमा सात अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्षको नौ महिने अवधीमा छ अर्ब ३० करोड रुपैयाँ मात्रै त्यस्तो आम्दानी गर्न सफल भएको छ । बैंकको कूल सेवा शुल्क आम्दानी भने एक अर्ब २० करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । उक्त रकम पनि बैंकले गैर कानुनी रुपमा शुल्क लिएकाले बृद्धि भएको हो । सो सम्बन्धमा नेपाल राष्ट्र बैंकमा उजुरी परिसकेकोले आगामी दिनमा अझै घट्ने सम्भावना छ ।
बैंकले कर्मचारीहरुको सेवा सुविधा पनि भारी मात्रामा घटाएको देखिएको छ । पछिल्लो पटक बैंकका कर्मचारीले छोड्ने क्रम बढेको तथ्य आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । वित्तिय विवरणका अनुसार कर्मचारी खर्च गत बर्षको यसै अवधीमा दुई अर्ब ९१ करोडबाट घटेर दुई अर्ब ४४ करोडमा सीमित हुन पुगेको देखिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी १.२७ रुपैयाँमा झरेको छ । कूल चुक्ता पुँजि १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९९२ रुपैयाँ रहेको बैंकको खराव कर्जा ८.८५ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ रहेको छ भने कूल सम्पत्तिमा प्रतिफल ०.०५ रहेको छ ।


