
३५ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, वितरणयोग्य मुनाफा भने ऋणात्मक



काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशत र सञ्चालन मुनाफा ३८.६१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५५ पैसा बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा रहेको छ।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।


