
नेपाललाई एआई र क्रिप्टोको विश्वव्यापी केन्द्र बनाउने एमचामको पहल



काठमाडौं । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र क्रिप्टो-ड्रिभन कम्प्युटिङ जस्ता भविष्योन्मुख डिजिटल पूर्वाधारको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल’ (एमचाम नेपाल) ले आफ्नो ‘वासिङ्टन डोर नक’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपालको आर्थिक रूपान्तरणका लागि एक महत्त्वपूर्ण क्षण मानिएको यस भ्रमणका क्रममा एमचामको टोलीले अमेरिकी सरकारका विभिन्न निकाय र निजी क्षेत्रका उच्च अधिकारीहरूसँग रणनीतिक छलफल गरेको छ ।
यस भ्रमणको मुख्य आकर्षण ‘हाइड्रो-टु-डाटा’ को अवधारणा रहेको छ। नेपालको प्रचुर जलविद्युत स्रोतलाई प्रयोग गरेर विश्वव्यापी रूपमा बढ्दै गएको डाटा प्रोसेसिङ, एआई कम्प्युटेसन र ब्लकचेन प्रविधिको ऊर्जा मागलाई सम्बोधन गर्ने प्रस्ताव अघि सारिएको छ ।
‘नेपालले आफूलाई केवल ऊर्जा निर्यातकर्ताका रूपमा मात्र नभई भविष्यको विश्वव्यापी अर्थतन्त्रको डिजिटल मेरुदण्डका रूपमा उभ्याउन सक्छ,’ मोघा इनर्जीका अध्यक्ष सम्रथ मोघाले भने । नेपालमा नवीकरणीय ऊर्जाको उपलब्धता र प्रतिस्पर्धी लागतका कारण यहाँ हाइपरस्केल डाटा सेन्टरहरू र एआई ट्रेनिङ मोडेलहरू स्थापना गर्न सकिने एमचामको ठम्याइ छ ।
भ्रमणका उपलब्धिस्वरूप युएस इनर्जी एसोसिएसनको साझेदारीमा आगामी दिनमा ‘युएस-नेपाल इनर्जी रोड शो’ आयोजना गरिने भएको छ । यसैगरी डिजिटल र ऊर्जा पूर्वाधार विकासका लागि डिएफसीसँग लगानीका सम्भावित संयन्त्रहरूबारे छलफल भएको छ भने एआई र क्रिप्टो पूर्वाधारमा दीर्घकालीन लगानी आकर्षित गर्न नियामक स्पष्टता र कानुनी ढाँचाका विषयमा जोड दिइएको छ ।
एमचाम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोघा इनर्जीका अध्यक्ष सम्रथ मोघा र कार्यकारी निर्देशक अमिर आर. थापा सम्मिलित प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय, वाणिज्य मन्त्रालय, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सी र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमसँग छलफल गरेको थियो ।
एमचाम नेपालले नेपाल सरकारलाई लगानीको वातावरण सहज बनाउन, नीतिगत स्थिरता कायम गर्न र नियामक अवरोधहरू हटाउन आग्रह गरेको छ । संस्थापक अध्यक्ष अजित विक्रम शाहले भने, ‘परिवर्तनका लागि साहसी सोच आवश्यक छ। नेपालले अब सहायताबाट व्यापारतर्फ फड्को मार्न आर्थिक परिवर्तनहरूसँग तालमेल मिलाउनैपर्छ ।’
भ्रमणका क्रममा टोलीले विश्व बैंक, एसियाली विकास बैंक र अमेरिकी संसद् (क्यापिटल हिल) का सदस्यहरूसँग पनि भेटघाट गरी नेपाल-अमेरिका बीचको ७८ वर्ष पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापारिक सम्बन्ध विस्तार गर्न आग्रह गरेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रसारण लाइन निर्माण कार्य अघि बढिरहेको सन्दर्भमा नेपाल अहिले बचत हुने स्वच्छ ऊर्जा निर्यात गर्ने र आन्तरिक रूपमा डिजिटल अर्थतन्त्रलाई शक्ति प्रदान गर्ने ऐतिहासिक मोडमा रहेको एमचामले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


