
उद्यमशीलता प्रवर्द्धन गर्न “वैभव उद्यमी सम्मान, २०८२” आयोजना हुँदै



काठमाडौं । नेपालमा उद्यमशीलताको विकास तथा युवामा आत्मनिर्भर बन्ने प्रेरणा दिन “वैभव उद्यमी सम्मान” कार्यक्रम आयोजना हुने भएको छ। एरोनेप कन्सल्टींग सर्भिसेजको आयोजनामा उक्त कार्यक्रम आगामी फागुन १०, २०८२ गते सम्पन्न हुने भएकाे हाे।
नेपालमा बढ्दो बेरोजगारी, विदेश पलायन र अवसरको सीमितताबीच आफ्नै देशमा उद्यम स्थापना गरी रोजगारी सिर्जना गर्ने तथा आर्थिक विकासमा योगदान पुर्याउने उद्यमीलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत व्यक्तिगत सफलताभन्दा पनि नेपालभित्र उद्यमशीलताको वातावरण निर्माण गर्दै युवामा आशा र सम्भावनाको सन्देश फैलाउने लक्ष्य राखिएको छ। सम्मान कार्यक्रम अन्तर्गत उद्यमीहरूको प्रेरणादायी यात्रालाई राष्ट्रिय स्तरमा प्रस्तुत गरिनेछ।
यस वर्ष सम्मान दुई विधामा प्रदान गरिनेछ। “उदीयमान सफल उद्यमी” विधा अन्तर्गत व्यवसायिक रूपमा उल्लेखनीय सफलता तर्फ उदाइरहेका सकारात्मक प्रभाव सिर्जना गरेका एक जना अनुभवी युवा उद्यमीलाई सम्मान गरिनेछ। दोस्रो, “राइजिङ उद्यमी” विधा अन्तर्गत नवप्रवर्तन, सम्भावना र तीव्र प्रगतिका आधारमा नयाँ पुस्ताका एक जना उद्यमीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
सम्मानका लागि स्व–नामांकन तथा सार्वजनिक सिफारिसमार्फत आवेदन संकलन गरिने र प्राप्त आवेदन पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिने बताइएको छ । निर्णायक मण्डलले नेतृत्व क्षमता, नवप्रवर्तन, सामाजिक तथा आर्थिक प्रभाव, नैतिकता र राष्ट्रप्रतिको प्रतिबद्धताको आधारमा विजेता छनोट गर्नेछन् ।
कार्यक्रममा सम्मानित उद्यमीहरूको जीवनयात्रा समेटिएको भिडियो प्रस्तुति, प्रमुख अतिथिको सम्बोधन, उद्यमी, लगानीकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया र नेटवर्किङ सत्र समेत रहनेछ। आयोजकले नेपालमा उद्यमशील संस्कृतिको विकास, सफल उद्यमीहरूको कथा प्रवर्द्धन तथा युवामा उद्यमशीलताको आकर्षण बढाउने अपेक्षा गरेको छ। साथै कार्यक्रमका लागि विभिन्न संस्था, व्यवसायी, विकास साझेदार तथा व्यक्तिलाई साझेदारी र सहकार्यका लागि आह्वान गरिएको छ ।

