
झापा गोल्डकपको उपाधि मच्छिन्द्रलाई



झापा । मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सम्मिलित मच्छिन्द्रले पहिलो पटक झापा गोल्डकपको ट्रफी उचालेको हो ।
उपाधिसँगै मच्छिन्द्रले नगद रु १५ लाख प्राप्त गर्यो भने उपविजेता एपिएफले रु सात लाख ५० हजारमा चित्त बुझाएको छ । यस संस्करणको झापा गोल्डकप हालसम्मकै उच्च पुरस्कार राशि भएको प्रतियोगिता मानिएको छ । मच्छिन्द्रले खेलको ३१ औँ मिनेटमा अग्रता लिँदै एपिएफलाई पछि पारेको थियो । विदेशी खेलाडी अयोला हमजातको पासमा स्ट्राइकर प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अगाडि बढाए । त्यसपछि पहिलो हाफको इन्जुरी समय (४५औँ मिनेट) मा देवेन्द्र तामाङको लामो प्रहारलाई फ्रयाङ्क अनोहले गोलमा परिणत गर्दै मच्छिन्द्रलाई २–० को सहज अवस्थामा पुर्याए ।
दोस्रो हाफमा एपीएफले लयमा फर्कने प्रयास गर्यो । खेलको ७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगरले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि ८२ औं मिनेटमा विश्वास उदासको फ्रि–किकलाई क्लियर गर्न नसक्दा दीपेश धिमालले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने प्रयास गरे । तर, मच्छिन्द्रले त्यसको एक मिनेटपछि नै निर्णायक गोल ग-यो । अयोला हमजातको कर्नरमा डिफेन्डर अलिसन अलिजोनोभले हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे । खेलमा मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद रु २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तामाङ घोषित हुँदै यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए ।
उनीहरूले जनही रु ३५ हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले यामाहाको स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा नेपालका तीन विभागीय टोली, विभिन्न ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको थियो ।

