
बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले आज शनिबार बिदाको दिन प्राधिकरणको रिक्त संचालक समितिको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै ७ दिन समय राखेर सूचना जारी गरेको छ ।
सरकारले तोकेको योग्यता पुगेका योग्य इच्छुक नेपाली नागरिकले ७ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) वमोजिम बीमा मौद्रिक बैंकिङ, वाणिज्यशास्त्र व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
अध्यक्षका लागि आवेदन दिने व्यक्ति उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (दोस्रो संशोधन सहित) ले तोके बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

