

बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दा हेर्न नमिल्नेमा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी हेर्न नमिल्नेमा परेको छ । ओझाको अनुभवसम्बन्धी योग्यता र उमेरसमेत नपुगी नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट बुधबार हेर्न नमिल्नेमा परेको हो ।
ओझाले दायर गरेको रिट न्यायाधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलाशमा परेको थियो । ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले अध्यक्ष ओझालाई निलम्बन गरेर छानबिनका लागि समिति गठन गरेपछि ओझा अन्तरिम आदेश माग्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति, समितिका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।