

बाढी पहिरोका कारण ५ राजमार्ग पूर्ण रूपमा अवरुद्ध




काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ५ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने ६ वटा एकतर्फी सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म संखुवासभा जिल्ला भोटखोला गाँउपालिका–४ बरूण स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।यस्तै रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै रसुवा जिल्ला गोसाईकुण्ड गाँउपालिका–२ बालुवा खानी स्थित पासाङल्हामु सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै रोल्पा जिल्ला त्रिवेणी गाँउपालिका–७ त्रिबेणी स्थित घोराही थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा खवरोध भएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला टोखा नगरपालिका–२ स्थित काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सुचारू भएको छ ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका–१० दब्ल्याङ कालिगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ । रनवलपरासी पूर्वको गैडाकोट नगरपालिका–३ तरङखोला स्थित कालिगण्डकी करीडोर एकतर्फी रुपमा सुचारू भएको छ भने रोल्पा जिल्ला कै परिवर्तन गाँउपालिका ५ ग्रामजिम सहिद राजमार्ग एकतर्फी सुचारू भएको छ । यस्तै सोही जिल्लाको परिवर्तन गाँउपालिका–५ भुर्तिवाङ सहिद राजमार्ग एकतर्फी सुचारू भएको छ । यस्तै सोही पालिकाको धामाचौर सहिद राजमार्ग एकतर्फी सुचारू भएको प्रहरीले जनाएको छ ।