
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री भएको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते उक्त लिलाम सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता सेयर पहिलोचोटी गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्ने गरी बोलपत्र आह्वान गर्दा साविकका संस्थापक सेयरधनीहरूबाट निवेदन परेको थिएन । संस्थापक सेयधरनीहरूबाट निवेदन प्राप्त नभएपछि कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारण सहित सबैले खरीद गर्न पाउने निर्णय गरी दोस्रोपटक असार २५ गतेदेखि साउन १ गतेसम्म बोलपत्र आह्वान गरेको थियो ।
उक्त अवधिभर सेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू साउन ७ गते खोली आवश्यक रुजू गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम, निर्देशिकाको अधीनमा रही साउन १२ गते बाँडफाँड गरिएको हो । बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ११२.६० रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

