

मरमसला तथा माछा मासुको मूल्य घट्ने क्रममा




काठमाडौं । विगतमा आकाशिएको मूल्य वृद्धिमा केही ब्रेक लागेको देखिन्छ । हाल मूल्यवृद्धिको अवस्था नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत कायम भएको छ।त्यस्तो तथ्यांक यसअघि गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो ।
यता, जेठ मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको देखिन्छ।
साथै, जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।
सोही समयमा तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको हो।