

हिमालयन बैंकले एफपीओ असार ३२ गतेदेखि जारी गर्ने




काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गर्न लागेको हो ।
एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । निष्कासन बन्द साउन ४ गते हुनेछ ।
यद्यपि, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म म्याद थपिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गरेको छ ।