

मुग्लिन–मलेखु सडक : ८ किलोमिटर कालोपत्रे सम्पन्न




चितवन । मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्रे गरिएको जनाइएको छ । सोही सडकको थप दुई किलोमिटर कालोपत्र गर्ने तयारी गरिएको हो ।
यता, नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्रे गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्रे गरिएको हो । झण्डै १४ मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
त्यस्तै, प्रमुख नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ, मौसमले साथ दियो भने थप दुई किलोमिटर कालोपत्र गर्दैछौँ ।’ अहिलेसम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उनले जानकारी दिए । असारसम्ममा चार वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । ती पुलमा बिम गडर राख्नका लागि तयारी गरिएको छ । हेभी उपकरणमार्फत बिम पुलमा चढाउनुपर्ने हुन्छ ।
आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । चितवनतर्फको बारवाङ र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयारी गरिएको छ भने धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ ।
असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ । बिम चढाउँदा सडक बन्द गर्नुपर्ने दरै बताए । उपकरण आएपछि स्थानीय प्रशसनसँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिए । यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ लेन पनि बनाइनेछ । जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।
विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।
साथै, शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम भइरहेका छन् । उक्त सडक भने विश्व बैंकको सहयोगमा बनाइएको बताइएको छ।