

नयाँ बीमा ऐनले लगानीको दायरा फराकिलो बनाएको छ : नेपाल लाइफका सीईओ पराजुली




काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमन पराजुलीले नेपाल लाइफ इन्सुरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रमा सुशासन कायम गर्न सफल भएको बताएका छन्। उनले नेपाल लाइफ इन्स्योरेन्स आफ्ना सरोकारवालाहरुको अपेक्षा पूरा गर्न सफल भएको बताएका हुन्।
उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इन्डीपेन्डेन्ट संस्था, नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको बिहीबार उद्घाटन गर्दै सो कुरा बताएका हुन् । पाँच अर्ब चुक्ता पुँजी राखेर नेपाल लाइफले नयाँ संस्था खोलेको बेलामा नेपाली बीमा क्षेत्रमा कतिपय कम्पनीहरुलाई आफ्नो नियामकीय पूँजी पाँच अर्ब पुर्याउन समेत धौ-धौ हुने गरेकोमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । यस्तो बेलामा नेपाल लाइफले आफूले ल्याएका योजनाहरु सधैं नेपाली जीवन बीमा बजारमा गुरु योजना समेत हुने गरेको यसका अनुभवीहरुले सुनाएका हुन् ।
त्यस्तै, सेयरधनीहरुलाई आकर्षक लाभांश दिन, एउटा अब्बल संस्थाको रुपमा रहन, नियामक निकायको आँखामा सधैँ सबै मापदण्डहरुमा सबल बन्न नेपाल लाइफको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ। सीईओ पराजुलीले सबल, विश्वसनीय कम्पनी बनेकै कारण नेपाल लाइफ बिमितको नजरमा समेत राम्रो कम्पनी रहेको सुनाए। त्यस्तै कर्मचारीहरुको हकमा पनि थोरै मात्र संस्थाहरुमा रहेका जस्ता सुविधा नेपाल लाइफले प्रदान गर्ने गरेको उनले बताए ।
यता, अब्बल टीम नेपाल लाइफ इन्स्योरेन्समा रहेको उनको भनाई थियो। सीईओ पराजुलीले सम्पूर्ण सरोकारवालाहरुलाई सँगै लिएर बजारका नयाँ चुनौतीहरु सामना गर्दै जाने भएकाले नेपाल लाइफ इन्स्योरेन्सको विरासत अन्य कम्पनीभन्दा भिन्न रहेको बताएका हुन्। उनले दुई वर्ष यता आफ्नै सम्पत्तिलाई कम्पनीले राम्रो सदुपयोग गर्दै जाने थालनी गरेको सुनाए।
६ ठाउँमा नेपाल लाइफले (देशभर) प्रतिनिधित्व गर्दै आइरहेको छ। देशका इटहरी, हेटौँडा, विराटनगर लगायत विभिन्न ६ ठाउँमा नेपाल लाइफको सहभागिता रहने सीईओ पराजुलीले बताएका हुन्। उनले इजाजतपत्रमा ७ को केही ग्यापले गर्दा नयाँ लगानी कम्पनीलाई थोरै ढिलाई भएको पनि सुनाए। तर, बजारमा रहेको भ्यालु क्रिएसनका कारण नेपाल लाइफ इन्स्योरेन्स अन्य कम्पनीभन्दा अर्कै तहमा पुगेको कुरा आफूले सुनाउनु नपर्ने बताए।
उनले नयाँ बीमा ऐनले बीमा कम्पनीहरुलाई लगानीको दायरा विविधीकरणमा समेत सघाएको बताएका छन्। २५ वर्षको ठूलो अनुभव लिएर आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ संस्था समेत खोल्न सफल भएकोमा खुसी व्यक्त गरे। यता यसअघिका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग आफूले लाइसेन्स माग्न गएको समेत किस्सा उनले सुनाए। उनले आफ्नो लगानी कम्पनीको लागि ५ अर्ब चुक्ता पुँजी बराबरको कम्पनी खोल्न खोज्दा सिलवाल एकपटक झस्किएको स्मरण गराए। तर उनले यति ठूलो कम्पनी खोल्नको लागि नियामक निकायको तर्फबाट कुनै समस्या नहुने बताएको सुनाए।
नियामक निकाय आफैँले नयाँ नीति निर्देशन तयार गर्नुपर्ने भएकाले केही समय हामीलाई नीति तयार गर्न दिनुहोस् भनेर नियामकले समेत समय माग गरेको कार्यक्रममा खुलासा गरेका थिए। सीईओ पराजुलीले केही समय प्राधिकरणले मागेपछि एउटा स्वतन्त्र संस्था जन्मिएको र यो एउटा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई मात्र नभई सम्पूर्ण नेपाली बीमा जगतका लागि निकै ठूलो कुरा रहेको सुनाए।