

शिक्षा र उद्योगलाई जोड्छौं भन्दै उद्योग परिसंघ र नेपाल विश्वविद्यालयले हात मिलाए




काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्य राखेर नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयले एक विशेष सम्झौता गरेका छन् ।
उक्त सम्झौताका लागि परिसंघमा बुधबार आयोजित एक समारोहमा समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले सो समझदारी फदलायी हुने विश्वास समेत व्यक्त गरेका हुन्।
यता, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेकोमा जोड दिए । अग्रवालले शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने बताएका हुन्।
त्यस्तै, नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इन्र्टनसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए । सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको भन्दै उनले अहिलेको आवश्यकता पनि त्यही रहेको बताए ।
साथै, विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता, नविनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए । विश्वविद्यालय नयाँ अवधारण अनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।