

प्रादेशिक कार्यालय धनगढीबाट १५ करोड ४६ लाखको पाठ्यपुस्तक बिक्यो




कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ रूपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको जनाइएको हो ।
प्राप्त सूचना अनुसार गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पा्ययपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए । प्रदेशमा चालु शैक्षिकसत्र २०८२ मा रु २५ करोड बराबरका १८ लाख १७ हजार थान पा्ययपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।
त्यस्तै, श्रेष्ठका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पाठ्यपुस्तक विक्री वितरण भएको छ ।
यता, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री वितरण भएको उनले जानकारी दिए ।
प्रदेशका सात पहाडी जिल्लामा लगभग पा्ययपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पाठ्यपुस्तक गइरहेको उनले जानकारी दिए। उनले भने, ‘हामीले सुरुमा पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौँ ।
साथै, कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पाठ्यपुस्तक गइरहेको छ । भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउनुहुन्छ ।’ केन्द्रले गत शैक्षिकसत्र २०८१ मा २२ करोड ५७ लाख रूपैयाँ बराबरका पा्ययपुस्तक बिक्री गरेको जनाएको हो।