
भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै



काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । भारतको प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको बताइएको छ ।
भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।


