

‘मोटरसाईकल व्यावसाय हाम्रै हो’: लघुबीमा कम्पनी,‘गाउँ–जाउँ’-ठूला निर्जीवन बीमक




काठमाडौं । नेपाली बीमा क्षेत्रमा कम्पनीहरुको अस्वस्थ प्रतिपर्धा र व्यावसायीक तानातानका खिचातानी केही हदसम्म साम्य हुन नपाउँदै फेरी अर्को नयाँ रोग उब्जिएको छ । हालसालै लाइसेन्स पाएका लघुबीमा कम्पनी (माइक्रो इन्स्योरेन्स) हरुले मोटरसाईकल व्यावसाय आफ्नो मात्रै हो भन्दै गर्दा ठूला निर्जीवन बीमक कम्पनीहरुले किन शहर केन्द्रित भएको हो ? भनेर औँला ठड्याउँन सुरु गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई जन्म दिएको तर कर्म दिने कुरामा भने केही काखापाखा गरेको आरोप लघुबीमा कम्पनीहरुले लगाउँन सुरु गरेका छन् । गत साता लघु बीमा कम्पनीका केही प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले निकै आश्चर्यजनक प्रतिक्रीया दिए । उनीहरुले आफ्नो व्यावसायीक बातावरण बनाउँन बीमा प्राधिकरणले सहजिकरण गर्नु पर्नेमा बजार मैत्री अभ्यास नबुझेको गुनासो गरे। उनीहरुले कुनै पनि कम्पनीलाई संचालन गर्नु पूर्व त्यस्ता कम्पनीहरुको उदेश्य, योजना, कर्मचारी संरचना, पूँजीको पर्याप्तता, देशको स्थिती तथा सम्बन्धित विषय वस्तुहरुको ज्ञान र बजारबाट हुने नयाँ मागलाई पनि नजिकबाट बुझ्न सकिएन भने त्यसले समेत ठूलो प्रभाव पार्ने भनाई व्यक्त गरे । यसको मतलब लघु बीमा कम्पनीहरुले जुन उदेश्य बोकेर उत्साहका साथ लाइसेन्स लिएका थिए अहिले उनीहरु पक्कै पनि केही हच्किएका छन् । त्यसमा एकातर्फ बीमा प्राधिकरण पक्षले आवश्यक खोजी नगरी हतारमा लाइसेन्स बाढेको हुनसक्नेसम्मका आँकन हुन थालेका छन् भने अर्कातर्फ लघु बीमा कम्पनीहरुले आफ्नो मुख्य कार्यक्षेत्र (कोर एरिया) बिर्सिएर शहरलाई नै कार्य क्षेत्र वा उत्तम विकल्प हो भन्ने निर्कौलमा पुगेको देखिन्छ ।
लघु बीमा कम्पनीहरुले अहिले महङ्गो र आलिसन महलमा आफ्नो कार्यालय राखेका छन् । उनीहरुलाई लाइसेन्स दिने बेलामा नै गाउँ–गाउँमा गएर न्युन आय भएका वर्गहरुलाई बीमा गराउँ भनेर लाइसेन्स दिइएको कुरा जगजाहेर नै छ । यस्तो बेलामा उनीहरुले जुन उदेश्य लिएर बीमा गर्न सक्छौं भन्ने आत्म विश्वास लिएका थिए अहिले ठूला कम्पनीहरुले विगतबाट गर्दै आएको मोटरसाइकल बीमा उनीहरुको आँखा गड्न थालेको छ ।
बीमा दर्पणसँगको प्रत्यक्ष संवादमा सहभागी हुँदै एक लघु बीमा कम्पनीका सीईओले भने,‘मोटर साइकल व्यवसाय त हामीले नै पाउँनु पर्ने हो नी । लघुबीमा भनेर नाम त लघु बीमा दिइयो तर हामीले स साना र मोटरसाइकल जस्ता बीमा पायौं भने त्यसको शतप्रतिशत जोखिम बहन गर्न सक्षम छौं भनेर प्रमाणीत नै गर्न तयार र्छौ ।’
ठिक यही समयमा ठूला निर्जीवन बीमकहरुले भने फरक प्रतिक्रीया दिएका छन् । उनीहरुको धारणा बुझ्दा विदेशमा कतै चलेको चलनलाई सिधैं नेपालमा लागू गर्छौ भन्नु लघुबीमा कम्पनीहरुको देखिसिकी वा हतारको निर्णय मात्र हुने देखिन्छ । पुरानो तथा ठूलो निर्जीवन बीमा कम्पनीले नौलो प्रतिक्रीया दिएका छन् ।
फिलिपिन्सको चलन नेपालमा हुबहु लागू नहुने
ठूलो तथा पुरानो बीमकतर्फका सीईओले भने,‘हाम्रो सीईओ सापहरुले फिलीपन्सिको एक समारोहकै अवधारणा तपाईहरुलाई सुनाउँनु भएको जस्तो लाग्यो । फिलिपीन्समा सबै मोटरसाईकल लघु बीमा हुँदो रहेछ, यो सत्य कुरा हो । त्यहाँ ‘अल द मोटरसाईकल आर माइक्रो इन्स्योरेन्स’ भन्ने गरेको हामीले पनि सुनैकै कुरा हो । तर, यो त फिलिपिन्स होइन नी नेपाल हो । नेपालमा थोरै लिमिटको बीमा गर्ने भनेर लाइसेन्स लिएको लघुबीमा कम्पनीले अब मोटरसाइकलकै बीमा गर्न पनि वैधानिक देखिदैन । फिलिपिन्समा मोटरसाइकलको दाम निकै सस्तो रहेछ त्यसैले यो त्यहाँको लघु बीमा नै हो भन्ने विश्वभर थाँहा छ । अब नेपालको हकमा तपाईहरुले एउटा बिएमडब्लु, आर वान फाइभ, लगायत कतिपय मोटरसाईकल हेर्नु भयो भने त्यो लघु बीमाको दायरा भन्दा माथि पर्छ । त्यसैले लघु बीमाले मोटरसाइकल व्यवसाय लघु बीमाकै हो भन्ने भन्दा पनि सबैभन्दा पहिला आफ्नो क्राइट एरिया हेर्नु पर्छ । हामीले उहाँहरुलाई धेरै केही भन्न मिल्दैन तर यति चाही भन्छौं, ग्रामिण तहको गरिबको बीमा गर्ने भनेर लाइसेन्स लिएका कम्पनीहरु गाउँ–जाउँ ।’
पुराना ठूला निर्जीवन बीमा कम्पनीहरुले सबै कम्पनीहरुले केन्द्रिय कार्यलय काठमाडौमा राखेर बस्दा नियामक निकायदेखि चनाखो हुनुपर्ने र खबरदारी गर्नु पर्ने सरोकारवाला क्षेत्रहरु किन यति साह्रो चुपचाप छन् भनेर खेद समेत प्रकट गरेका छन् । यसअघि ठूला निर्जीवन बीमा कम्पनीहरु शहर केन्द्रित भएकाले ग्रामिण तहका न्यून आय स्तर भएका नागरिकहरुको बीमा गर्न छुट्टै कम्पनीको खाँचो औँल्याउँदै लघु बीमा कम्पनीहरु कानुनी रुपमा अस्थित्वमा आएका हुन् । पर्याप्त पूँजी र आवश्यक जनशक्ती भएका ठूला कम्पनीहरु लागि जिल्ला नै तोकेको अवस्थामा पनि उनीहरुले गाउँ गाउँमा बीमा बुझाउँन सशक्त भूमिका खेल्न सकेनन् । सोही कुरा पूरा गर्न लघु बीमा कम्पनीहरुले हानाथाप गरेर लाइसेन्स लिन पुगे । तर, एकै पटक गाउँमा गएर बीमाको बारेमा बुझाउँने कि बीमाको व्यावसाय पनि गर्ने हो भन्ने ठूलो समस्या उनीहरुलाई परेको देखिन्छ । साढे पाँच दशकको इतिहासमा बीमाको सामान्य कुरा बुझाउन नसकेको नेपाल सरकार र बीमा प्राधिकरणको अगाडी लघु बीमा एक्लैले ग्रामिण तहमा बीमा पढाउने र बीमा गराउँने काम एकै पटक गर्छु भन्नु सूर्यको अगाडी बत्ती देखाए जस्तै साबित हुन थालेको छ । एकतिर बीमा बजारीकरणको पाटो बाँकी रहिरहेको अवस्थामा अर्कोतिर बीमा कम्पनीहरुले बीमितलाई शैक्षिक ज्ञान मात्र दिएर नभई उनीहरु (फाइनान्सियल लिट्रेसी) वित्तीय साक्षरता र आर्थिक व्यवस्थापनको व्यवहारिक ज्ञान पनि बाढ्नु पर्ने चुनौती छ । धमाधम बीमा कम्पनीहरुलाई लाइसेन्स बाढे जस्तै यो काम पनि त्यति सहजै आजको भोलि (हार्ड एण्ड फास्ट) हुने भन्दा केही चुनौती पूर्ण पक्कै देखिएको छ ।
तर, लघु बीमा कम्पनीहरुले पनि आफूहरुले कसैको हुँदा खाँदाको व्यावसाय खोस्ने नियत नभई आफ्नो (नेचर) व्यावसयीक प्रकृतीसँग मिल्दो जुल्दो कुनै ठूलो हिस्साको जोखिम बहन गर्न लघुबीमा कम्पनीहरु सक्षम रहेको पटक–पटक दाबी गर्न थालेका छन् ।