
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ५ गतेका लागि ९ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय महारजगंज काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । समामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ. व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने छ ।
त्यस्तै आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संचालक समितीबाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व. २०८२/०८३ को मुनाफाबाट हाल कायम रहेको चुक्ता सेयरपूँजीको ५.०० प्रतिशत नगद लाभांश (नगद लाभांशको कर प्रयोजनका लागी समेत) वितरण गर्न स्वीकृत गर्ने । त्यस्तै संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने । संस्थागत सुशासन सम्बन्धमा छलफल हुने एजेण्डा रहेका छन् ।
त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको ८ औँ बार्षिक साधारण सभाको निर्णय र विद्युत नियमन आयोगबाट प्राप्त स्वीकृती बमोजिम सेयरको प्रारम्भिक सार्वजनिक (आईपीओ) निश्कासनलाई निरन्तरता दिने र सेयर निष्काशन सम्बन्धमा गर्नुपर्ने आवश्यक परीमार्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने, सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको उपयोग सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र/ नियमावली संशोधन गर्ने तथा सार्वजनिक सेयर निष्काशन सम्बन्धमा नियमनकारी निकायवाट फेरबदल गर्ने निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने र कम्पनी गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल र पारित गरिने छन् ।

