
नेपालमा सार्क राष्ट्रहरुको ३९ अर्ब लगानी प्रतिबद्धता, भारतको ९१ प्रतिशत हिस्सा

काठमाडौं । नेपाललाइ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुबाट ३९ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । विगत ११ आर्थिक वर्षमा सार्क मूलकबाट ३९ अर्ब ७ करोड ३४ लाख रुपैयाँको प्रतिबद्धता आएको हो ।
राष्ट्रहरुबाट हुने वैदेशिक लगानी प्रतिबद्धतामा छिमेकी मुलुक भारतको वर्चस्व निरन्तर कायमै रहेको छ । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ देखि गत आव २०८२/८३ को जेठ सम्म को तथ्याङ्क अनुसार सार्क मुलुकहरुबाट ६०९ वटा आयोजनामार्फत उक्त रकमको प्रतिबद्धता आएको हो ।
लगानी प्रतिबद्धतामध्ये भारत एक्लैको हिस्सा ९०.९९ प्रतिशत अर्थात ३५ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ रहेको छ । भारतीय लगानीकर्ताहरुले विशेष गरी जलविद्युत्, उत्पादन र सेवा क्षेत्रका ३३१ वटा ठूला परियोजनामा ध्यान केन्द्रित गर्दै प्रतिआयोजना औसत १० करोड ७४ लाख रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । जसमा आव २०७५/७६ मा हालसम्मकै उच्च ६ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो भने गत आव २०८२/८३ मा पनि ५२ वटा आयोजनामार्फत ४ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ प्रतिबद्धता दर्ता भइसकेको छ ।
भारतपछि सार्क क्षेत्रबाट लगानी विस्तार गर्ने दोस्रो ठूलो राष्ट्र बङ्गलादेश बनेको छ । जसको कुल लगानी प्रतिबद्धता ७.०३ प्रतिशत अर्थात २ अर्ब ७४ करोड ४९ लाख रहेको छ । बङ्गलादेशबाट ११ वर्षको अवधिमा २२१ वटा आयोजना दर्ता भएकोमा विशेष गरी पछिल्ला २ वर्षमा साना तथा मझौला प्रविधि र पर्यटन क्षेत्रमा बङ्गलादेशी लगानीकर्ताहरुको चासो तीव्र रुपमा बढेको देखिन्छ ।
जहाँ आव २०८१/८२ मा ६७ वटा र आव २०८२/८३ मा ११३ वटा आयोजना दर्ता भएका छन्, यद्यपि उनीहरुको प्रतिआयोजना औसत लगानी १ करोड २४ लाख रुपैयाँमा सीमित छ । अर्कातर्फ, अन्य चार सार्क राष्ट्रहरुको उपस्थिति भने तुलनात्मक रुपमा निकै सुस्त र सीमित रहेको छ ।
समीक्षा अवधिमा श्रीलङ्काबाट १६ वटा परियोजनामार्फत ३९ करोड ९५ लाख रुपैयाँ, पाकिस्तानबाट २७ वटा परियोजनामार्फत २४ करोड २७ लाख रुपैयाँ, भुटानबाट ८ वटा आयोजनामार्फत २ करोड ७० लाख रुपैयाँ र अफगानिस्तानबाट ३ वटा आयोजनामार्फत ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता दर्ता भएको छ भने मालदिभ्सबाट शून्य लगानी प्रतिबद्धता रहेको छ ।

