
खानी विभागका कर्मचारी खनाल ९० दिन सम्म गएनन् कार्यालय, सफाइ पेस गर्न निर्देशन

काठमाडौं । खानी तथा भूगर्भ विभागमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक, जियोलोजिस्ट गौतम प्रसाद खनाल कार्यालय नआएको भन्दै स्पष्टीकरण पेश गर्न भनिएको छ ।
नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, राजपत्राङ्कित शाखा अधिकृत कर्मचारी सङ्केत नंम्बर २०१२९४ रहेको खनाल ९० दिन सम्म कार्यालयमा उपस्थित नभए सँगै स्पष्टीकरण सोधिएको विभागले जानकारी दिएको छ ।
विभागले अबको १५ दिनभित्र स्पष्टीकरण पेश गर्न खनाललाई निर्देशन दिएको हो । विभागले सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।
खनाल विभागमा कार्यरत हुँदा २०८२ साउन ९ गतेदेखि हालसम्म कुनै सूचना बिना निरन्तर बिदा बसेका हुन् । पूर्वसूचना वा स्वीकृत बिदा बिना निरन्तर ९० दिन भन्दा बढी खनाल कार्यालयमा अनुपस्थित रहेको छन् ।
‘ तपाईं खानी तथा भूगर्भ विभागमा कार्यरत रहँदा मिति २०८२/०४/०९ गतेदेखि हालसम्म कुनै पूर्वसूचना वा स्वीकृत बिदा बिना लगातार ९० (नब्बे) दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको देखिएको छ, ’ सूचनमा भनिएको छ ।
‘तपाईं के–कस्तो कारणले अनुपस्थित रहनुभएको हो भन्ने स्पष्ट कारणसहित, बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम सफाइ पेस गर्न यस मन्त्रालयको मिति २०८३/०४/१४ गते (सचिवस्तर) को निर्णयअनुसार यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । तोकिएको अवधिभित्र सफाइ पेस नगरेमा, तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर गरेको ठहर गरी सोही ऐनको दफा ५९ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही गरिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ, ’ सूचनमा भनिएको छ ।

