धान खेत मास्दै ड्रयागन फ्रुटको व्यावसायिक खेती
मोरङ । मोरङका पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै व्यावसायिक खेतीमा लागेका छन् । तीन वर्ष यता उनले राजनीतिक कार्यक्रम, सभा, समारोहमा भन्दा आफ्नै खेतबारीमा भेटिन्छन् । खाद्य बालिभन्दा फलफुल खेतीमा दोब्बर आर्थिक लाभ हुने भएपछि उहाँले धान खेत मासेर सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लागेका छन् ।
‘खाद्य बालिबाट तीन बिघा खेतमा हुने आम्दानी १० कट्ठाबाट भयो । त्यसपछि ड्रयागन खेती अझ विस्तार गरें,’ उनले भने । अहिले दक्षिण मोरङको पथरीशनिश्चरे ६ र सुनवर्सी १ का सात जना किसानले १५ विघा जग्गामा ड्रयागन खेती गरिरहेका छन् । हाल अढाई बिघा धान खेत खेत मासेर ड्रयागन लगाएका तामाङले गत असोजसम्ममा २५ लाख रुपियाँको फल बजार पठाए । गत वर्ष प्रति किलो ६ सय रुपियाँमा बिक्री भएको ड्रयागन फ्रुट यो वर्ष तीन सय ५० रुपैयाँमा बिक्री भयो । उत्पादन बढेपछि मूल्य घट्यो, तर किसानलाई घाटा छैन । तामाङले विदेशबाट आउने फललाई विस्थापित गर्न उत्पादन अझै बढाउनुपर्ने बताए ।
तामाङले हालसम्म खेतीमा डेढ करोड लगानी गरिसकेका छन् । १० जनाले रोजगार पाइरहेको उनले पूर्वाञ्चल मल्टिपल एग्रिकल्चर प्रालि अहिले ड्रयागन फलको स्रोत केन्द्रका रुपमा बिकसित भइरहेको छ । सुरुमा एउटा जातको मात्र बिरुवा लगाउनुभएका तामाङले हाल पाँच जात बिरुवा लगाएका छन् । जात अनुसार स्वाद पनि फरक छ । उपभोक्ताले रोजाई अनुसारको स्वादमा फाल खान पाउनु हुन्छ । त्यसैले नयाँ नयाँ जातको खोजिमा छु । ‘औषत नेपालीले चाडवाड र बिरामी पर्दा मात्र फलफुल खान्छन् । हामी सधैँ खान सक्ने मूल्यमा उत्पादन गर्नुपर्छ भनेर लागि रहेका छौं,’ उनले भने ।
सुनवर्सी १ का गणेश तुर्छा राईले ४ वर्ष अघि दुईबाली धान फल्ने साडे ३ बिघा खेतमा ड्रयागन खेती सुरु गरे । कोरोनाले निर्माण व्यावसाय थलिएपछि कृषि कर्ममा सम्भावना खोज्न ड्रयागन खेतीमा होमिनु भएका राई यतिबेला ड्रयागन खेतीको विस्तार, प्रसोधन र नयाँ व्यापारिक बजारको खोजिमा हुनुहुन्छ । वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्ने महत्वकाङ्क्क्षी लक्ष्यका साथ ड्रयागन खेतीमा लाग्नुभएका राईले डेढ करोड रुपियाँ लगानी गरिसकेको बताए ।
‘दुई सिजन उत्पादन लिँदा ४० प्रतिशत खर्च उठिसकेको छ । २०÷२५ वर्षसम्म आम्दानी लिन सकिने भएकाले लगानी खेर जान्छ भन्ने लागेको छैन,’ उनले भने । अझ बढी उत्पादन लिन राईले बिरुवामा राति समेत विद्युतीय उर्जा दिइरहेको छ । चिसो मौसममा तापक्रम कम हुँदा उत्पादनमा असर पर्ने बुझेपछि राईले बिरुवाको बिचमा विजुली बालेर छोडिदिएका छन् ।
गत आर्थिक वर्षमा समेत १२ हजार किलो ड्रयागन आयात भएको तथ्यांक छ । भण्डारण व्यवस्थित गर्न सके तीन महिनासम्म सुरक्षित रहने भएकाले ड्रयागन उत्पादन गर्ने किसानले आत्तिनु पर्ने अवस्था नरहेको गणेशले बताए । तामाङ र राईले ड्रयागनको व्यावसायिक खेती सुरु गरेका अहिले उनका छिमेकीहरू पनि उनीहरुलाई पछ्याइरहेका छन् । ड्रयागन खेती व्यावसायी संघ कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका तामाङका अनुसार पथरीशनिश्चरे र सुनवर्सीमा मात्र १५ बिघामा जग्गामा ड्रयागन खेती भइरहेको छ । खगेन्द्र लिम्बूले २ बिघा ५ कट्ठामा, मनिष राईले २ बिघामा, हेमेश्वर राईले २ बिघामा ड्रयागन लगाएका छन् । बिघाभन्दा कम क्षेत्रफलमा लगाउने अझ धेरै किसान छन् ।