
काठमाडौं जिल्ला अदालतमा स्थगित सेवाहरु पुनः सुचारु

काठमाडौं । काठमाडौं जिल्ला अदालत, बबरमहलको भवनमा भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडका कारण केही समयका लागि अदालतका सेवा स्थगित भएका थिए। उक्त घटनापछि अदालतले सञ्चालनमा रहेका सेवा यथावत राख्दै क्रमशः पुनः सुचारु गर्ने निर्णय गरेको छ।
फिराद दर्ता तथा फैसला कार्यान्वयनसम्बन्धी नयाँ निवेदनहरू कात्तिक २३ गतेदेखि तहसिल शाखामा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि रोकिएका फिरादका मामिलालाई हदम्यादको प्रयोजनका लागि शून्य समय मानिने र एक दिनमा १५० भन्दा बढी निवेदन दर्ता नहुने निर्णय गरिएको छ।
आगजनी तथा तोडफोडबाट नष्ट भएका मिसिलहरूको सूची सर्वोच्च अदालतको अनुमोदनपछि सूचना-पाटी र अदालतको वेबसाइटमा प्रकाशित गरिएको छ। उल्लिखित सूचीमा समावेश मिसिलहरूको प्रमाणित प्रतिलिपि वा सम्बन्धित सरकारी निकायबाट जारी प्रमाणित प्रतिलिपि मुद्दाका वादी, प्रतिवादी र सरोकारवालाले मिति २०८२/७/२६ देखि ३० दिनभित्र अदालतमा उपस्थित गरि पूनः प्राप्ति गर्नुपर्नेछ। मिसिल पूनः प्राप्तिका लागि फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, बकपत्र, तारेख पर्चा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आदेश, लिखत प्रमाण तथा मिसिल संलग्न कागजातहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
भदौं २३ देखि कार्तिक २५ गतेसम्मको अवधिमा परेका म्याद तथा तारेखहरू नगुज्रिने गरी ३१ वटा चालु मुद्दाहरूको तारेख व्यवस्थापन गरिएको छ। कात्तिक २६ पश्चात तोकिएका तारेखमा उपस्थित हुनुपर्नेछ। यसअघि तोकिएका तारेखमा अनुपस्थित हुने भएमा सर्वोच्च अदालतको आदेश बमोजिम ३० दिनभित्र उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
मुद्दा मिलापत्र तथा मुद्दा फिर्तासम्बन्धी सेवा पनि कात्तिक २६ देखि पुनः सुचारु हुनेछ। अदालतका विभिन्न शाखा र मुद्दा फाँटहरूको कार्यस्थल फरक-फरक तोकिएको छ। मूल भवनमा रहेका मुद्दा फाँट १ देखि २२ सम्मका मुद्दा नेपाल नागरिक उड्डयन प्राधिकरणको ख ब्लक भवनबाट, फाँट २३ देखि २६ सम्मको मुद्दा भूइँतलाबाट, फाँट २७ देखि ३१ सम्मको मुद्दा माथिल्लो तलाबाट सञ्चालन हुनेछ। तहसिल शाखा मूल भवन प्रवेशद्वार सँगैको प्रहरी व्यारेक भवनबाट, अभिलेख शाखा तेस्रो भवन (ख ब्लक) माथिल्लो तलाबाट, र फिराद तथा अभियोग दर्ता शाखा साविक चमेना गृहबाट सञ्चालन हुनेछन्।
सरोकारवालाले कुनै द्विविधा भएमा अदालतको प्रशासन शाखा मार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।


