
बैंक,वित्तीय संस्थाका नाम जोडेर भ्रम नफैलाउँन अनुरोध,जारी गरियो विज्ञप्ती



काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्ती अनुसार नेपालका बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको दाबी गरिएको छ। संघहरुले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधिहरु र सामाजिक संजालमा फैलाइएका भ्रामक सूचनाहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
हाल संघहरुले नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरुको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको र जोखिम बहन गर्ने क्षमताका साथ यी संस्थाहरु सुरक्षित रहेको कुरा विज्ञप्तीमा जोड दिइएको छ । त्यसरी नै प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षित रहेको खुलाइएको छ।
विज्ञप्तिका अनुसार आम जनमानसलाई सामाजिक संजालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति कुनै ध्यान नदिन आग्रह गरिएको छ भने संघहरुले केवल सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रुपमा लिन सुझाव दिएको अवस्था छ।
पछिल्लो समय संघहरुले गलत अभिव्यक्ति दिने, समाजमा त्रास फैलाउने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानूनी कारवाही गर्न सरकारलाई आग्रह गर्दै यता बैंकिङ्ग क्षेत्रमा विश्वास कायम राख्दै सही सूचना पुर्याउन सहयोग गर्ने सञ्चार माध्यम र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आउँने दिनहरुमा आफ्नो सेवालाई थप सहज बनाउँदै लैजाने विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस्तो छ विज्ञप्ती


