
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित एउटा पानी उद्योगले मापदण्डविपरीत जारमा पानी भर्ने गरेको पाइएको छ। उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोकर्णेश्वर नगरपालिका-८ मा रहेको ‘ब्लुपाइन मिनरल वाटर’मा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।
अनुगमनका क्रममा प्रशोधन प्रक्रिया पूरा नगरी पानी जारमा भर्ने गरेको पाइएपछि विभागले बिक्रीका लागि तयार पारिएका पानीका जार रोक्का गरेको छ। विभागको उजुरी सम्बोधन टोलीले असोज ३० गते उक्त उद्योगको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा उद्योगको सरसफाइको अवस्था सामान्य मात्र रहेको र त्यसमा सुधार गर्नुपर्ने देखिएको विभागले जनाएको छ।
पानी भर्ने ठाउँ र जार सफा गर्ने ठाउँ नजिकै रहेको पनि अनुगमन टोलीले फेला पारेको थियो। उद्योगमा आरओ र ओजोनेसन मेसिन भने सञ्चालनमै रहेको पाइएको थियो। तर युभी मेसिन सञ्चालनमा रहे पनि पानी भर्ने समयमा उक्त मेसिन नचलाईकन जारमा पानी भर्ने गरेको टोलीले फेला पारेको थियो।
प्रशोधनको महत्त्वपूर्ण मापदण्ड पूरा नगरेको भेटिएपछि विभागले बिक्री वितरणका लागि तयारी अवस्थामा राखिएका ६५ थान जार तत्कालका लागि रोक्का राखेको छ। खाद्य नियमावली २०२७ को नियम १३ को उपनियम २ बमोजिम ती जार रोक्का राखिएको विभागले प्रस्ट पारेको छ।
यस विषयमा विभागले आफ्नो विवरणमा उल्लेख गरेको छ, ‘निरीक्षणको क्रममा युभी सञ्चालन नगरी पानी भर्ने गरेको पाइएको छ। बिक्री वितरणका लागि तयारी अवस्थामा राखिएका ६५ थान जार रोक्का राखिएको छ।’
यस विषयमा थप छानबिन हुने बताउँदै विभागले भनेको छ, ‘थप अनुसन्धानका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम नमुना सङ्कलन गरिएको छ।’ संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि थप कानुनी प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ।


