
रास्वपाको चुनावी लहर क्षणिक आँधी मात्र, सधैँ टिक्दैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा पर्याप्त ध्यान दिन नसकेको बताएका हुन् ।
दाहालले शान्ति सम्झौता, गणतन्त्र, सङ्घीयता, समावेशिता र संविधानसभाबाट संविधान निर्माण हुन नदिन चाहने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गरे । आफूहरूले पटक पटक सचेत गराउने प्रयास गरे पनि राज्य संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको उनको आरोप छ ।
सरकारमा रहेकाहरूले समेत देशमा विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको भन्दै उनले दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको कमजोरी भएको टिप्पणी गरे ।
दाहालले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले आन्दोलन र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वको अधिकारमाथि प्रहार भइरहेको आरोप लगाए । नयाँ सरकारबाट जनताका अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले मजदुर, किसान, सुकुमबासी, कर्मचारी, विद्यार्थी र शिक्षक समेतलाई आतङ्कित पार्ने तथा दमन गर्ने काम भइरहेको बताए ।
वर्ग सङ्घर्ष विश्वव्यापी रूपमा जारी रहेको उल्लेख गर्दै वर्तमान सरकार मजदुर, किसान र नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप उनले लगाए ।
सम्बोधनका क्रममा दाहालले भने, ‘हामी अलि बढी सरकार गिराउने, बनाउने चलखेलमा बढी ध्यान दिऔँ । हाम्रो गल्ती त्यहीँ भयो ।’ प्रतिक्रियावादी पङ्क्तिले लामो योजनाअन्तर्गत षड्यन्त्र गरिरहँदा राज्य संयन्त्र बेखबरजस्तै बनेको र सरकारमा रहेकाहरूले परिस्थिति बुझ्न नसकेको उनको भनाइ छ ।
संयोजक दाहालले नेकपाले अब तत्काल मात्रै नहेरी दीर्घकालीन रूपमा राष्ट्रिय संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने बताए । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामलाई क्षणिकको आँधीको संज्ञा दिँदै उनले त्यो सदाबहार नरहने दाबी गरे । राज्य संयन्त्र आतङ्क सिर्जना गरेर चलिरहेको जिकिर पनि उनले गरे ।
दाहालले नेपालका साना तथा ठुला सबै कम्युनिस्ट समूहलाई एकताको झन्डामुनि ल्याउने अभियान अझै तीव्र बनाइने बताए । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको बताउँदै उनले एक पटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गरे ।
नेकपा एमालेसँग तीन बुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुई बुँदे प्रस्ताव अघि सारिएको जानकारी दिँदै दाहालले अन्य कम्युनिस्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको बताए । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकता विस्तार गर्न सके मात्रै देशका समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको दाहालले जानकारी दिए । शान्ति, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको बताउँदै उनले देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबिच मोर्चा निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
दाहालले अन्तर्राष्ट्रिय शक्तिसँग संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महसुस गर्दै अन्तर्राष्ट्रिय भूमिकालाई निरन्तर अघि बढाइरहेको पनि बताए । दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यता विघटन हुँदै गएको उल्लेख गर्दै उनले विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको बताए ।
अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।


