
नेपाली भूमि छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैन : माधवकुमार नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपालको राष्ट्रियता सङ्कटमा परेको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गरेका हुन् । यसप्रति पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्ने उनको भनाइ छ ।
नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्नेमा जोड दिँदै उनले प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि देशलाई विवादमा पार्न नहुने बताए । नेपालको भौगोलिक अवस्थाले समेत असंलग्न परराष्ट्र नीतिको आवश्यकता निर्देशित गरेको उल्लेख गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने धारणा राखे ।
‘राष्ट्रियताको कुरालाई हामीले सबैभन्दा उच्चतम प्राथमिकता दिइरहेका छौँ । राष्ट्रियता सङ्कटमा छ । विदेशी शक्तिहरूले नेपालमा वक्रदृष्टि लगाइरहेका छन्,’ नेपालले भने, ‘यसप्रति हाम्रो पार्टी र कार्यकर्ताहरू सबैभन्दा पहिला अत्यधिक सतर्क हुनुपर्छ । नेपालको भूमिलाई छिमेकीका विरुद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्ने काम कसैले नगरोस् । विभिन्न साधन स्रोतको प्रयोग गर्ने सन्दर्भमा पनि नेपाल कुनै विवादमा नपरोस् ।’
राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै नेपालले आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताए । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
पार्टी निर्माण र सङ्गठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गरे । पार्टी निर्माणका लागि कार्यकर्ता प्रशिक्षणको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
नेपाल सगरमाथा र बुद्धको देश भएको उल्लेख गर्दै उनले बुद्धको शान्तिको सन्देश संसारमा सम्प्रेषण गर्न आवश्यक रहेको बताए । नेपालको गौरवशाली इतिहासबारे विश्व मञ्चमा बुझाउन जरुरी रहेको बताउँदै नेपालले जनताको हितमा समर्पित हुने पार्टी कम्युनिस्ट पार्टी नै रहेको दाबी गरे ।


