
तिहारपछि बालेन सरकारका कामको फेहरिस्त सार्वजनिक : विपद् कोषमा १८ अर्ब ६२ करोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले तिहार तथा छठपछिको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कामको विवरण सार्वजनिक गरेको छ।
सरकारले भारतसँगको आर्थिक सहकार्य, जलविद्युत् आयोजना विकास, सार्वजनिक खरिद प्रणाली सुधार, सूचना प्रविधिमा विदेशी लगानी सहजीकरण, विपद् व्यवस्थापन तथा सरकारी सम्पत्तिको संरक्षणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणदेखि तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनेसम्मका काम भएका छन्।
विपद् उद्धार कोषमा १८ अर्ब ६२ करोड जम्मा
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजको कार्यान्वयन प्रगति समीक्षा गरिएको छ।
सरकारले बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको जनाएको छ।
यसैगरी, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ।
तल्लो अरुणको पहिलो प्याकेजमा ११ अर्ब ४९ करोड भारुको ठेक्का
सरकारले ऊर्जा क्षेत्रतर्फ तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्नुलाई महत्त्वपूर्ण कार्यसम्पादनका रूपमा उल्लेख गरेको छ।
सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ।
प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते सम्पन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले उक्त आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका थिए।
सरकारका अनुसार आयोजनाको पहिलो प्याकेज निर्माणका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको छ।
यसै अवधिमा भारत भ्रमणमार्फत दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सरकारले जनाएको छ।


