
करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध हुने
काठमाडौं । सरकारले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । यसका लागि आवश्यक नीतिगत आधार तयार गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बताएकी छन् ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सरकारी क्षेत्रका सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको जानकारी दिइन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट सङ्घीय सरकारअन्तर्गत कार्यरत करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने व्यवस्था मिलाइएको छ ।
सरकारले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने योजना बनाएको पनि उनले बताइन् ।
त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन स्थानीय तहको सहयोगसहितको सहभागितालाई प्रोत्साहन गरिने मन्त्री बादीले जानकारी दिइन् । श्रमिकले जम्मा गर्नुपर्ने एक प्रतिशत योगदानबराबरको रकम सङ्घीय सरकारले सहयोगदानका रूपमा जम्मा गरिदिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सरकारले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । नेतृत्व तहदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यले यस्तो पहल गरिएको उनले बताइन् ।
यसैगरी, सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ ।
मन्त्री बादीले विभिन्न निकाय तथा कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्दै एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको बताइन् ।
सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिबद्धताबाट निर्माण भएको नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् ।


