
मार्जिन कारोबारको विवरण दैनिक सार्वजनिक गर्ने नेप्सेको तयारी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने भएको छ । यसका लागि नेप्सेले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदै आएका ब्रोकर कम्पनीहरूलाई कारोबारको विवरण नियमित रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेप्सेद्वारा जारी सूचनाअनुसार मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ को परिच्छेद ८ को दफा २१ मा रहेको सूचनासम्प्रेषणसम्बन्धी व्यवस्थाबमोजिम यस्तो व्यवस्था लागू गर्न लागिएको हो ।
उक्त व्यवस्थाअनुसार मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कारोबार सदस्यहरूले सो सुविधाअन्तर्गत भएका कारोबारको विवरण अनुसूची–४ मा तोकिएको ढाँचामा तयार गरी कारोबार भएको अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ ।
ब्रोकर कम्पनीबाट प्राप्त विवरणलाई एकीकृत गरी नेप्सेले अनुसूची–५ मा तोकिएको ढाँचाअनुसार अर्को कारोबार दिनसम्म आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नेछ ।
नेप्सेका अनुसार कारोबार सदस्यहरूले उपलब्ध गराएको विवरणलाई एकीकृत रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको हो । यसबाट मार्जिन कारोबार सुविधाअन्तर्गत कुन कम्पनीको शेयरमा कति कारोबार भइरहेको छ भन्ने विवरण लगानीकर्ताले सहजै प्राप्त गर्न सक्नेछन् ।
यो व्यवस्था आगामी सातादेखि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ । यससँगै लगानीकर्ताले मार्जिन कारोबारसम्बन्धी एकीकृत विवरण नेप्सेको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा हेर्न सक्नेछन् ।
नयाँ व्यवस्थाले मार्जिन कारोबारमा पारदर्शिता बढाउनुका साथै बजारमा भइरहेको कारोबारबारे लगानीकर्ताको पहुँच र सूचनाको उपलब्धता सहज बनाउने अपेक्षा गरिएको छ ।


