
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
गण्डकी । न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।
फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पु्र्एका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएको छ ।
तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्बिर प्रदर्शनीमा राखिएको छ । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीको आयोजना गरिएको उनले बताइन्। नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्बिर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्बिरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताइन्।
“सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ,” उनले भनिन्, “यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ।”
तस्बिर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्बिरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ।
राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्बिर–कथामा समेटिएको छ।
तस्बिर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो।


