
व्यतित बीमालेख नविकरणमा प्रभु महालक्ष्मी लाइफको शतप्रतिशतसम्म छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।
कम्पनीले व्यतित भएका बीमालेखहरु २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा बीमा प्रारम्भ मितिबाट २ वर्ष भित्रको व्यतित बीमालेखहरूमा १०० प्रतिशत छुट, बीमा प्रारम्भ मितिबाट २ वर्ष देखि ३ वर्ष अवधिसम्म व्यतित बीमालेखहरूमा ७५ प्रतिशत छुट र बीमा प्रारम्भ मितिबाट ३ वर्ष भन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरूमा ५० प्रतिशत छुट पाइनेछ ।
यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
यस भन्दा पहिले बीलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन । बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।



