
ओम मेगाश्री फर्मास्युटिकल्सको साधारणसभा आह्वान
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २६ गतेका लागि ११ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बिहान ९ः१५ बजे सुरु हुने छ । सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै संस्थापक सेयरधनी समूहबाट चार जना सञ्चालकसमेत निर्वाचित गरिनेछ । सभामा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरण पारित गरिनेछ । चालू आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
यसपटकको सभाको मुख्य विशेष प्रस्ताव भने रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने रहेको छ । यसका लागि दुवै कम्पनीबीच भएको प्रारम्भिक समझदारीपत्र, त्यसमा भएका संशोधन, प्राप्ति समिति गठन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता र कानुनी सल्लाहकार नियुक्तिसम्बन्धी कामकारबाही अनुमोदन गर्ने प्रस्ताव गरिएको छ । साथै मूल्याङ्कनकर्ताले तयार पारेको सम्पत्ति, दायित्व तथा व्यवसायको मूल्याङ्कन प्रतिवेदन र अन्तिम सहमतिपत्रसमेत स्वीकृतिका लागि सभामा पेस गरिनेछ ।
कम्पनीले प्रस्तावित प्राप्तिका लागि सेयर आदानप्रदान अनुपातसमेत तय गरेको छ । सञ्चालक समितिबाट अनुमोदित अनुपातअनुसार रोयल फर्मास्युटिकल्सको एक कित्ता शेयर बराबर त्यसका सेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४४ कित्ता सेयर प्रदान गरिनेछ । रोयल फर्मास्युटिकल्सका सेयरधनीले आफ्नो एक कित्ता सेयरबापत ओम मेगाश्रीको ०.५७४४ कित्ता सेयर पाउने प्रस्ताव गरिएको हो ।
प्राप्ति प्रक्रिया र त्यससँग सम्बन्धित संस्थागत व्यवस्थालाई अघि बढाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक प्रावधान संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै प्रस्ताव कार्यान्वयनका क्रममा नियामक निकाय वा अन्य कार्यालयबाट थप संशोधन, परिमार्जन वा परिवर्तन गर्न निर्देशन आएमा त्यसअनुसार काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत रहेको छ। साधारण सभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसअनुसार मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागी हुन तथा सञ्चालक निर्वाचनमा मतदान गर्न पाउनेछन् ।


