
भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्छ : कमलेश अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन प्रधानमन्त्री बालेन शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल–भारत व्यापार विस्तार, पारवहन सुविधा र निर्यात प्रवर्द्धनका विषयलाई भ्रमणको मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखेका हुन्।
नेपालको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत हिस्सा भारतसँग रहेकाले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता अग्रवालले औँल्याए। हाल ३० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) भएका वस्तु मात्रै निर्यात गर्न सकिने व्यवस्थालाई घटाएर २० प्रतिशतमा झार्न सके नेपाली वस्तुको निर्यात बढ्ने उनको भनाइ छ।
कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि दुई देशबिच सहज व्यापार पहुँच, सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका क्वारेन्टाइन प्रयोगशाला स्थापना तथा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, नेपाल–भारतबिच सीमापार (क्रस बोर्डर) डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै अग्रवालले भारतीय बजारमा नेपाली नागरिकले क्यूआर कोडमार्फत सहजै भुक्तानी गर्न सक्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरे।


