
नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने
काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।
एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लड्र्समा खेल्नेछ । उक्त खेल सोही दिन लड्र्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ । यो लड्र्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ ।
बंगलादेशले लड्र्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लड्र्समा खेलेको थियो । नेपालले भने लड्र्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग त्यहाँ खेलेको थियो । भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्नेछ । ती खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त हुनेछन् ।
लड्र्समा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली र बंगलादेशी दर्शकलाई लक्षित गरी टेलिभिजन प्रसारणको समयअनुसार तय गरिएको एमसीसीले जनाएको छ। जुन ३ मा हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु तालिका सार्वजनिक भएपछि तय हुनेछ।


