
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढेको छ । गत वर्षको ४ महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन् । तथ्यांकअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६ सय २३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो संख्या १४ हजार ६ सय ६९ ले बढेर ६९ हजार २ सय ९२ पुगेको छ ।
वृद्धि भएको पर्यटकमध्ये नेपालीको संख्या बढी छ । गत वर्ष यस अवधिमा ९ हजार ८ सय ५५, सार्क मुलुकका ५ हजार ३ सय ३१ र विदेशी ३९ हजार ४ सय ३७ जना रहेका थिए । यस वर्ष नेपालीको संख्या २४ हजार ४ सय ३५, सार्क मुलुकका ६ हजार ५ सय २७ र विदेशी ३८ हजार ३ सय ३० रहेका छन् जसमध्ये नेपालीको संख्या गत वर्षभन्दा १४ हजार ५ सय ८० ले वृद्धि भएको छ ।
विदेशीको संख्या १ हजार १ सय ७ घटेको छ भने सार्क मुलुकका पर्यटक १ हजार १ सय ९६ ले बढेको छ । नेपालीको संख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा १ लाख ७८ हजार १ सय ९ पर्यटकले निकुञ्ज घुमेका थिए । यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको संख्यामा निकै गिरावट आएको घिमिरेले बताए । आव २०७१/०७२ मा १ लाख ७८ हजार २ सय ५७ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च संख्या हो ।
यस वर्षको ४ महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालू वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ । चितवनमा मुख्यरुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।


