
चार महिनामा मुस्ताङ पुगे १ लाख १२ हजार पर्यटक, कात्तिकमा बढ्यो चहलपहल
मुस्ताङ। मुस्ताङमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक लाख १२ हजार ४८ जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । बर्खायाम तथा भदौ र असोजमा आएको बाढीपहिरोका कारण सुस्ताएको पर्यटन क्षेत्र चाडपर्व सकिएसँगै स्वदेशी पर्यटकको रोजाइमा परेपछि कात्तिकमा पर्यटक आगमन बढेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार २१७ जना विदेशी र ५७ हजार ८३१ जना स्वदेशी पर्यटक सडक, हवाई तथा पदमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन् ।चार महिनाको कुल पर्यटक आगमनमध्ये स्वदेशी पर्यटकको हिस्सा ५१ दशमलव ६ प्रतिशत र विदेशी पर्यटकको हिस्सा ४८ दशमलव ४ प्रतिशत रहेको छ । कात्तिकमा सबैभन्दा बढी ४१ हजार ७०७ जना पर्यटक मुस्ताङ आएका छन् । तीमध्ये २० हजार १२९ जना विदेशी र २१ हजार ५७८ जना स्वदेशी पर्यटक रहेका छन् ।
साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १९ हजार ५३९ जना पर्यटक मुस्ताङ आएका थिए । विदेशी पर्यटकको सङ्ख्या साउनमा १८ हजार ६७०, भदौमा नौ हजार ७७५, असोजमा पाँच हजार ६४३ र कात्तिकमा २० हजार १२९ रहेको छ । असोजमा सबैभन्दा कम विदेशी पर्यटक आएका थिए ।यस अवधिमा ६९ हजार ७४६ वटा सवारीसाधन मुस्ताङ भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । भदौमा बाढीको त्रास र असोजमा कालीगण्डकी नदीको कटानका कारण सडक अवरुद्ध हुँदा पर्यटकको सङ्ख्या घटेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो ।मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको विवरण सीमाक्षेत्र घाँसा र अर्धनिषेधित क्षेत्र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङको प्रवेशद्वारमा रहेको चेकपोस्टमा सङ्कलन गरिन्छ । फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्याङ्क राख्ने गरेको छ ।
मुस्ताङका होटल व्यवसायी सुरज तुलाचनले पर्यटकीय सिजनमा बाढीपहिरोका कारण यसपटक व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक महिनाको आगमनले राहत महसुस गरिएको छ, अब जाडोयाम सुरु भयो, तीन महिना सुनसान हुन्छ ।”मुस्ताङ आउने अधिकांश स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन् । प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानव निर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङी कला तथा संस्कृति, हावापानी र आकर्षक पर्यटकीय गन्तव्य यहाँका प्रमुख आकर्षण हुन् ।पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीसाधनमा मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढेको छ । लेतेदेखि माथि लोमान्थाङसम्म करिब ३०० साना तथा ठूला होटल सञ्चालनमा छन् ।


