
वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदामा राय/सुझाव पेश गर्न आग्रह
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा केन्द्रित हालको लगानी प्रणालीलाई थप विविधीकरण गर्दै उद्यमशीलता, पूर्वाधार विकास, साना तथा मझौला उद्योग र सामाजिक क्षेत्रमा लगानी बढाउने लक्ष्यसहित बोर्डले नयाँ नियमावलीको प्रस्ताव अघि सारेको हो ।
बोर्डले वि.सं. २०७५ मा जारी गरेको विशिष्टीकृत लगानी कोष नियमावलीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने गरी तयार पारेको ४५ पृष्ठ लामो मस्यौदामा लगानीका नयाँ क्षेत्र, कोषको संरचना, व्यवस्थापकको क्षमता र लगानीकर्ता संरक्षणसम्बन्धी व्यवस्था समेटिएका छन्। यससँगै पुरानो र प्रस्तावित व्यवस्थाबीचको भिन्नता स्पष्ट पार्ने तुलनात्मक तथा विश्लेषणात्मक विवरणसमेत सार्वजनिक गरिएको छ । बोर्डले मस्यौदामाथि सरोकारवालासँग सात दिनभित्र राय तथा सुझाव मागेको छ ।
नयाँ व्यवस्थाअनुसार अब वैकल्पिक लगानी कोषलाई कम्पनीमा मात्र सीमित नराखी ट्रस्ट वा सीमित दायित्व साझेदारी संरचनामार्फत समेत स्थापना र सञ्चालन गर्न सकिनेछ। लगानीको प्रकृति र जोखिमका आधारमा कोषलाई तीन श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । यसले फरक प्रकृति र जोखिम भएका लगानीका माध्यमलाई एउटै नियामकीय संरचनाभित्र समेट्ने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
कोष व्यवस्थापकको संस्थागत तथा वित्तीय क्षमता अभिवृद्धि गर्न न्यूनतम चुक्तापुँजी २ करोड रुपैयाँबाट बढाएर ५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । यसअघि नै अनुमतिपत्र लिएर सञ्चालनमा रहेका व्यवस्थापकलाई नयाँ पुँजी कायम गर्न तीन वर्षको समय दिइनेछ । त्यस्तै, कोष व्यवस्थापकले संस्था स्थापना गर्नुअघि नै बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने र आवश्यक पूर्वाधारको स्थलगत निरीक्षणपछि मात्र अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
लगानीकर्ताको प्रवेश सहज बनाउने उद्देश्यले केही प्रकृतिका कोषमा न्यूनतम लगानी सीमा घटाउने प्रस्ताव पनि मस्यौदामा समावेश गरिएको छ । सामान्य वैकल्पिक लगानी कोषमा एक लगानीकर्ताले कम्तीमा ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने व्यवस्था यथावत् राखिए पनि भेन्चर क्यापिटल, साना तथा मझौला उद्यम, सामाजिक प्रभाव र एन्जल कोषमा यो सीमा २५ लाख रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ । यसले तुलनात्मक रूपमा साना लगानीकर्तालाई समेत उद्यम तथा नवीन व्यवसायमा लगानी गर्ने अवसर उपलब्ध गराउन सक्नेछ।
Loading Viewer...


