
नेको इन्स्योरेन्सको बीमाशुल्क संकलन १५ प्रतिशतले बढ्यो, इपीएस कति ?
काठमाडौं । नेको इन्स्योरेन्सको व्यवसाय र आम्दानीमा सुधार भए पनि कम्पनीको नाफा भने सकारात्मक हुन सकेको छैन । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ८ करोड १८ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो । यसअनुसार कम्पनीको नोक्सानीमा सामान्य सुधार आएको छ । कम्पनीको बीमा व्यवसाय विस्तार भएको छ । वित्तीय विवरण अनुसार खुद बीमाशुल्क संकलन १५.२२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको हो ।
नोक्सानीमा केही कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि गत वर्षको तुलनामा सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक १२ रुपैयाँ ३५ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ११ रुपैयाँ ८१ पैसाले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ २६ पैसा रहेको छ ।
कम्पनीको बीमालेख संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ७२ हजार २२२ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ८७ हजार ११६ वटा बीमालेख जारी गरेको छ ।
यस अवधिमा कम्पनीले ३ हजार ३५० वटा बीमा दाबीबापत ४३ करोड १६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड २२ लाख ७८ हजार रुपैयाँ रहेको छ भने विपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । सोल्भेन्सी मार्जिन अनुपात ५.०६ रहेको वित्तीय विवरणमा उल्लेख छ ।


