
बाढी र आन्दोलनको चपेटामा हिमालयन एभरेष्ट इन्स्योरेन्स, कस्ताछन् वित्तीय सूचक ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बाढी पहिरो तथा आन्दोलनले थलिएको यो कम्पनीको सबै जसो सूचक नकारात्मक अवस्थामा रहेका छन् ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनी ५७ करोड ३० लाख रुपैयाँले नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमासिकमा कम्पनी १० करोड ९३ रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमासिकसम्म खुद आर्जित बीमाशुल्क २७ करोड ६२ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड ४१ लाख ५१ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि ४५ करोड १० लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ४२ लाख ३० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो। कुल आम्दानी ४३.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ४१ करोड १३ लाख ७० हजारबाट घटेर ३६ करोड २१ लाख २० हजार रुपैयाँमा झरेको छ। यता, कम्पनीले भुक्तानी गरेको कुल दाबी रकम भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ३२ करोड ९३ लाख ३८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५१ करोड ८२ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १८ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८४ पैसा रहेको छ ।


