
सलिकोको वित्तीय अवस्था : यस्ता छन् कम्पनीको सूचकहरु
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा गिरावट देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार असोज मसान्तसम्म २० करोड ९८ लाख ३२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २६ करोड ७३ लाख ७२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद आर्जित बीमाशुल्क पनि घटेको छ । गत वर्षको असोजसम्म ६२ करोड ११ लाख ३४ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५६ करोड ९३ लाख ८३ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ।
त्यसैगरी, लगानी तथा कर्जाबाट हुने आम्दानी ६ करोड ३७ लाख ७८ हजार रुपैयाँबाट घटेर ४ करोड ७ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल आम्दानीसमेत ८४ करोड १९ लाख ८१ हजार रुपैयाँबाट घटेर ७६ करोड ४३ लाख ७८ हजार रुपैयाँमा झरेको छ। कुल आम्दानीमा ९.२२ प्रतिशतको गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक ४० रुपैयाँ ७८ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ २२ पैसा रहेको छ ।
यता, कम्पनीको कुल खर्चमा भने सामान्य कमी आएको छ । अघिल्लो वर्षको असोजसम्म १ अर्ब १० करोड ९३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च यस वर्ष १ अर्ब ६ करोड ४१ लाख ३९ हजार रुपैयाँमा झरेको छ । कम्पनीको दाबी भुक्तानीतर्फ हेर्दा गत वर्षको सोही अवधिमा १ अर्ब ८ करोड १६ लाख ६५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको असोजसम्म ६७ करोड ३९ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ र विपत्ति कोष २४ करोड ८१ लाख २० हजार रुपैयाँमा स्थिर रहेको छ । तर, सञ्चित मुनाफा ३७ करोड ७७ लाख ७३ हजार रुपैयाँबाट घटेर १६ करोड ७० लाख ९ हजार रुपैयाँमा झरेको छ । अर्कोतर्फ, बीमा कोष भने ५ अर्ब ३८ करोड ३५ लाख ९० हजार रुपैयाँबाट बढेर ८ अर्ब ८९ करोड ४३ लाख २७ हजार रुपैयाँ पुगेको छ।


