
नाफामा फर्कियो शिखर इन्स्योरेन्स, इपीएस सहित अन्य सूचक कस्ता ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनी गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । गत वर्ष ठूलो रकम घाटा व्यहोरेको कम्पनीले एक वर्षको अवधिमै वित्तीय अवस्थामा सुधार गर्दै नाफा कमाउन सफल भएको हो । नाफामा सुधार आएसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७.३३ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको बीमाशुल्क संकलनमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा २९ करोड ७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १३.७९ प्रतिशतले बढेर ३३ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा १७ अर्ब १७ करोड ६४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २० अर्ब ५३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
व्यवसाय विस्तारका हिसाबले पनि कम्पनीले प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७९ हजार ४४० वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ । यसअनुसार एक वर्षको अवधिमा कम्पनीले २२ हजार ८७२ वटा थप बीमालेख जारी गरेको छ।


