
फेसबुकको माउ कम्पनी मेटामाथि इटालीमा गरियो १३४४० करोड जरिवाना
काठमाडौं । इटालीले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको माउ कम्पनी मेटामाथि लगभग १३ हजार ४४० करोड रुपैयाँ जरिवाना गरेको छ।
एन्ड्रोइड प्रयोगकर्ताको स्पष्ट सहमति बिना उनीहरुको तस्बिर पहुँच गरेकोमा यो कारबाही गरिएको हो। इटालीको डाटा सुरक्षा प्राधिकरणका अनुसार मेटाले फेसबुक एपमा रहेको सुविधामार्फत प्रयोगकर्ताका तस्बिर र भिडियो हेर्न सक्षम भएको थियो।
नियामकले मेटाले लगभग २ करोड प्रयोगकर्तालाई यसबारे उचित रुपमा जानकारी दिन असफल भएको जनाएको छ। यो सुविधाले फेसबुकलाई प्रयोगकर्ताका फोन ग्यालरीमा रहेका तस्बिर र भिडियोमा आधारित पोस्टहरु सुझाव दिन अनुमति दिन्छ।
फेसबुकले प्रयोगकर्तालाई एपमार्फत एकपटक मात्र आफ्नो सम्पूर्ण फोटो ग्यालरी पहुँच गर्न अनुमति मागेको थियो। यद्यपि, यो अनुमतिले फेसबुकलाई उनीहरुका तस्बिरमा आधारित पोस्टहरु सुझाव दिन पनि अनुमति दिनेछ भनेर स्पष्ट रुपमा भनिएको थिएन।
इटालियन नियामकहरूले मेटालाई यो फिचर स्वचालित रुपमा सक्रिय हुनबाट रोक्न र प्रयोगकर्ताबाट छुट्टै अनुमति लिन ६० दिनको समय दिएका छन्।
नियामकले यस मुद्दाबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको बताएको छ। यो समस्या ती व्यक्तिमा कायम रहन्छ जसले एप अपडेट गरेका छैनन् वा पहिले नै यो सुविधालाई अधिकृत गरिसकेका छन्।


