
पर्यटक बढेसँगै सोल्टी होटलको आम्दानीमा बढ्यो, खुद नाफा १४ करोड २३ लाख पुग्यो
काठमाडौं । ‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा बढेको हो ।
विवरण अनुसार चालु आवको असोज मसान्तसम्मको अवधिमा होटलले १४ करोड २३ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा होटलले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विदेशी तथा आन्तरिक पर्यटक बढ्दा नाफा बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय हवाई उडानहरू नियमित र सहज हुँदै जाँदा विशेषगरी छिमेकी मुलुक भारत, चीन र अन्य एसियाली देशहरूबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ ।
काठमाडौँको ताहाचलस्थित मुख्य पाँचतारे होटल ‘द सोल्टी काठमाडौँ’ का साथै पोखरा, लुम्बिनी, चितवन र इटहरीमा रहेका सोल्टीका अन्य होटल तथा रिसोर्टहरूमा पाहुनाको चाप बढेपछि कोठा बुकिङ र रेस्टुरेन्टबाट हुने आम्दानीमा ठुलो वृद्धि भएको छ । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन र विवाहजस्ता ठुला भोजभतेर (ब्याङ्क्वेट) बाट पनि होटलले राम्रो कमाइ गरेको छ ।
यस होटलको ऋण अनुपात ०.०१ मात्र रहेको छ । यस कारण पनि नाफा बढेको कम्पनीले जनाएको छ । धेरैजसो ठुला व्यापारिक कम्पनीहरूले कमाएको नाफाको ठुलो हिस्सा बैंकको ऋण र ब्याज तिर्दैमा सकिन्छ। तर, सोल्टी होटलसँग आफ्नै अर्बौँ रुपैयाँ बराबरको घरजग्गा र भवन छ भने बैंकको ऋण लगभग शून्य बराबर छ। बैंकलाई ब्याज तिर्नु नपरेपछि होटलले व्यापारबाट जति कमाउँछ, त्यो सिधै कम्पनीको खुद नाफामा जोडिन्छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी १.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २९.९२ रुपैयाँ रहेको छ ।


