
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हाे । दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
यद्यपि, मधेश प्रदेशमा अब नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने टुंगो लागिसकेको छैन । विभिन्न दलले आ–आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । तर, जसपा नेपालले तत्काल सरकारमा सहभागी हुने चासो नदेखाउँदा नयाँ सत्ता समीकरणबारे अन्योल कायमै छ । नयाँ गठबन्धनमा कुन–कुन दल सहभागी हुने र कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयसमेत अझै स्पष्ट हुन सकेको छैन ।


