
पोखरामा पर्यकटले पनि लगाए भाइटीका
पोखरा । पोखरामा आयोजित १९औं संस्करणको भाइटीका महोत्सवमा १५ देशका पर्यटकले टीका लगाएका छन्। महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत विभिन्न १५ देशका ५१ पर्यटकको निधारमा रेम्बो चिल्ड्रेन होम्सका बालिकाले टीका लगाइदिएका हुन्।
आयोजक संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संघले भाइटीकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत पर्यटकलाई टीका लगाउने कार्यक्रम भएको जानकारी दिए। टीका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष आफूलाई मन परेको अनुभव सुनाइन्। उनी मर्दी हिमाल पदयात्राका क्रममा पोखरा पुगेकी हुन्। महोत्सवका क्रममा पर्यटकले देउसी खेलेका छन्। उनीहरू नाचगानमा पनि रमाएका थिए।


