
हार्दिक पञ्जाब फर्किए, अर्शदीप मुम्बईमा भित्रिए
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को सिजनअघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सले हार्दिक पाण्ड्या र अर्शदीप सिंहको टोली अदलबदल पूरा गरेका छन्। यससँगै मुम्बईको कप्तानी गर्दै आएका अलराउन्डर हार्दिक पञ्जाबमा आबद्ध भएका छन् भने बायाँहाते तीव्र गतिका बलर अर्शदीप मुम्बई पुगेका छन्।
आईपीएलको प्रेस विज्ञप्तिअनुसार हार्दिक १८ करोड भारतीय रुपैयाँमा पञ्जाबमा आबद्ध भएका हुन्। मुम्बईमा उनको पारिश्रमिक १६ करोड ३५ लाख रुपैयाँ थियो। अर्शदीप भने आफ्नो यसअघिकै १८ करोड रुपैयाँ पारिश्रमिकमा मुम्बई पुगेका छन्।
सन् २०२४ देखि मुम्बईको कप्तानी गरिरहेका हार्दिकले टोली छाडेपछि फ्रेन्चाइजले आगामी सिजनका लागि नयाँ कप्तान खोज्नुपर्नेछ।
हार्दिकको आईपीएल करिअरमा पञ्जाब तेस्रो टोली हुनेछ। उनले सन् २०१५ मा मुम्बईबाटै आईपीएलमा डेब्यु गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्समा आबद्ध भएका उनले दुई सिजन टोलीको प्रतिनिधित्व गर्दै कप्तानीसमेत गरे। सन् २०२४ मा उनी पुनः मुम्बई फर्किएका थिए।
हार्दिकले आफ्नो आईपीएल करिअरमा पाँच उपाधि जितेका छन्। उनले मुम्बईबाट चार र गुजरातबाट एक उपाधि जितेका हुन्। हार्दिकको कप्तानीमा मुम्बईले सन् २०२४ मा अंकतालिकाको पुछारमा रहेर सिजन समाप्त गरेको थियो।
सन् २०२५ मा भने टोली प्लेअफमा पुगेको थियो। तर, सन् २०२६ मा मुम्बई नवौं स्थानमा सीमित भयो। हार्दिकको कप्तानीमा मुम्बईले खेलेका ३९ खेलमध्ये १५ मा जित र २४ मा हार बेहोरेको थियो।
यता, अर्शदीपले पञ्जाबबाट आठ सिजनमा ९६ खेल खेलेका छन्। उनले टोलीका लागि १११ विकेट लिएका छन्। यो आईपीएलको १९ सिजनको इतिहासमा पञ्जाबका कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो।
अर्शदीपको आगमनले मुम्बईको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ। उनी जसप्रित बुमराहसँगै नयाँ बलिङ जोडीका रूपमा देखिन सक्नेछन्।
हार्दिकको बहिर्गमनसँगै मुम्बईले आगामी सिजनअघि आफ्नो नेतृत्व समूह र प्रशिक्षक टोलीमा पनि व्यापक परिवर्तन गरेको छ। किरन पोलार्डले महेला जयवर्धनेको स्थानमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, रोबिन उथप्पा, मिचेल म्याक्लेनघन र टी दिलीपलाई क्रमशः ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गरिएको छ।


