
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उद्घाटन गरे ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङ कार्यक्षेत्र रहेको डिभिजनमा ११ जना कर्मचारीको दरबन्दी छ । मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयबमोजिम स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन स्थापना भएको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिए ।
डिभिजनले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालय जोड्ने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणलगायत क्षेत्रमा कार्य गर्ने क्षेत्राधिकार पाएको डिभिजन प्रमुख शाहले वताउनुभयो । सातै प्रदेशमा रहेका पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा देशभरिमा २१ वटा डिभिजनमध्ये कोशी प्रदेशको पाँचथरमा पहिलो डिभिजन स्थापना भएको हो ।
कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ, इलाम डिभिजनले इलाम र झापा, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र सङ्खुवासभा , ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु तथा इटहरी सुपरिवेक्षण कार्यालयले प्रत्यक्ष रूपमा मोरङ, सुनसरी र उदयपुरमा कार्य गर्ने शाहले बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक र पुलका समस्या समाधान गर्न कार्यालय परिणाममुखी हुने विश्वास गरिएको बताए । “यहाँ विपद्का कारण ग्रामीण क्षेत्रमा सडक र पुल अलपत्र छन् । तिनको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन यो डिभिजन सहयोगी हुने यहाँको अपेक्षा छ,” प्रजिअ दाहालले भने, “यस कार्यालयबाट यहाँका नागरिकले धेरै लाभ लिन सक्नुपर्छ ।” उनले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारण मद्दत पुग्ने योजना अघि बढाउन पनि डिभिजनलाई आग्रह गरे ।
फिदिम नगरपालिकाका नगर प्रमुख काफ्लेले सङ्घीय सरकारले विकासका प्रायः सबै कार्य गर्ने पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताए । उनले सङ्घीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न सघाउ पुग्ने बताए।


