
इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको बैठक बोलाउन माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्र नै लेखेर समितिको बैठक बोलाउन माग गरेका छन् । अन्य विपक्षी दलहरूले अनौपचारिक रूपमा बैठक बोलाउन माग गरेको बताएका छन् ।
‘मैले लिखित रूपमा नै समितिको बैठक बोलाउन माग गरेको छु’ संसदीय दलका नेता शाहीले अनलाइनखबरसँग भने ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले लेखेको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएको उल्लेख छ ।
राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भीर छलफल र आवश्यक छानबिनका लागि तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरिएको छ ।
साथै, संसदीय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल पनि समितिको बैठक राख्न माग गर्दै पत्र पठाएका छन् ।
‘देशमा दिनप्रतिदिन राज्य एवं सरकारी निकायसँग जोडिएका अस्वभाविक घटनाहरू भइरहेका छन् । यसबारेमा के भएको हो र किन गैर कानुनी रूपमा सरकारका निकायहरू चलिरहेका छन् ? प्रहरी कस्टडीमा भएका इनम सापकोटाको भनिएको अडियो कसरी लिक भयो ?,’ पत्रमा लेखिएको छ, ‘यसैसँग जोडिएर प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनको फेसवुक स्टाटसहरूका आधार के हुन् ? पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाह नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजीपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु र सरकारलाई जवाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको कर्तव्य/जिम्मेवारी रहेकोले अविलम्व समितिको बैठक बोलाउन हार्दिक अनुरोध सहित माग गर्दछु ।’
प्रमुख सचेतक दुलालले समिति सभापतिसँग कुरा भएको र बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको जानकारी दिए ।


