
एआई तालिममा ६८ हजारभन्दा बढी आवेदन, सरकारले निःशुल्क तालिम दिने
काठमाडौं । सरकारले ६८ हजारभन्दा बढीलाई निःशुल्क कृत्रिम बौद्धिकता (एआई) तालिम दिने भएको छ । दुई हजार जनालाई मात्रै सहभागी गराउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बौद्धिकता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको हो।
युवाहरूको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै सरकारले आवेदन दिएका सबैलाई तालिमको अवसर उपलब्ध गराउने निर्णय गरेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयमा अनलाइन तालिम सञ्चालन गरिरहेको छ। सुरुमा दुई हजार जनालाई मात्रै तालिम दिने लक्ष्य राखिएको भए पनि देशभरबाट ६८ हजारभन्दा बढी आवेदन परेपछि सहभागी संख्या बढाएर सबैलाई समेट्ने निर्णय गरिएको हो।
मन्त्रालयका अनुसार तालिममा च्याटजीपीटी, क्लाउडलगायतका कृत्रिम बौद्धिकतासम्बन्धी उपकरण प्रयोग गर्ने तरिका सिकाइनेछ। त्यस्तै, एआईबाट प्रभावकारी नतिजा प्राप्त गर्न आवश्यक प्रम्प्ट लेख्ने सीप, प्रस्तुतीकरण तयार गर्ने, तस्बिर तथा भिडियो निर्माण गर्ने र एआईको जिम्मेवार प्रयोग गर्ने विषयमा आधारभूत ज्ञान प्रदान गरिनेछ।
कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिमका लागि बिहान १० देखि दिउँसो १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी दुईवटा सत्र निर्धारण गरिएको छ। सहभागीले आफूलाई अनुकूल हुने समयको सत्र छनोट गरी तालिम लिन सक्नेछन्।
तालिममा सहभागी हुने आवेदकलाई आफूले छनोट गरेको सत्र सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत अनलाइन कक्षामा जोडिने लिंक पठाइने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार हाल बिहान १० देखि दिउँसो १२ बजेसम्मको सत्र सञ्चालन भइरहेको छ।


