
मंसिरमा नेपाल वेयरहाउजिङको सेयरको लकइन सकिदै
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ५५ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि मंसिर महिनामा सकिने भएको छ । कम्पनीको ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी मङ्सिर १९ गते समाप्त हुने भएको हो ।
कम्पनीका संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको उक्त सेयरको लकइन अवधि समाप्त हुन लागेको हो । कम्पनीका संस्थापकको नाममा रहेको ५५ लाख कित्ता र कर्मचारीसँग रहेको २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो । लकइन अवधि सकिएसँगै सम्बन्धित संस्थापक तथा कर्मचारीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न सक्नेछन् ।
सार्वजनिक निष्काशनमार्फत सेयर बाँडफाँट भएको ३ वर्षसम्म संस्थापक तथा कर्मचारीको सेयर बिक्री गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लकइनमा राखिएको सेयरको अवधि समाप्त हुन लागेको हो । यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरूले भने उक्त अवधिपछि पनि सेयर बिक्री गर्न पाउने छैनन् ।


